
सामान्यतया प्रकृतिमा आउने विनाशकारी हलचल, रोग, व्याधि, महामारीलाई प्रकोप भनिन्छ। प्राकृतिक प्रकोप विभिन्न प्रकारका हुन्छन्; जस्तै आँधीबेह्री, बाढी, पैह्रो, भुइँचालो, रोग र महामारी आदि। प्रकोप मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकोले यसबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो। यसै सन्दर्भमा कुरा गर्नुपर्दा भुइँचालो र बाढीको प्रकोपलाई सिक्किमले निरन्तर रूपमा सामना गर्दै आइरहेको छ। यसकारण प्रकोपको जोखिमबाट बच्न वा क्षयक्षतिलाई न्यूनीकरण गर्न प्रकोपको प्रकृतिअनुसार के-कस्तो सावधानी अपनाउन जरुरी छ भन्ने कुराबारे सबैमा जानकारी हुनु नितान्त आवश्यक छ।
प्राकृतिक प्रकोप सधैँ अप्रत्याशित रूपमै आउनेगर्छ। यसर्थ, यसको सम्भाव्यतालाई दृष्टिगत गरी सधैँ सावधानी अपनाउँदै जाने हो भने यसको असरबाट बच्न सकिन्छ र क्षयक्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। प्रकोपको सन्दर्भमा सधैँ तीन कुरालाई विशेष ध्यानमा राख्नुपर्ने हुन्छ। पहिलो हो अग्रिम सावधानी। दोस्रो प्रकोप व्यवस्थापनमाथि सचेतता। यसैगरी तेस्रो हो सुरक्षात्मक उपाय। बाढी-पैह्रो पनि प्राकृतिक प्रकोपमै पर्ने भए पनि यसको अग्रिम लक्षण भने अगावै पाउन सकिने भएकोले होशियारी अपनाए यसको प्रभावबाट बच्न सकिन्छ वा क्षयक्षतिलाई कम गर्न सकिन्छ। पछिल्लो वर्षका 3-4 अक्टोबरको राति अचानक रूपमा आएको बाढ़ीले सिक्किमलाई ठूलो हानि पुर्याएको छ। त्यस समय सिक्किममा आएको बाढीले तीन दर्जनभन्दा बढ़ी मानिसको तत्काल मृत्यु भयो भने 76 जना बेपत्ता भए। बेपत्ता भएका यी मानिसहरूको कुनै सुइँको नपाउँदा सम्बन्धित पक्षद्वारा अन्ततः ती सबैलाई मृत घोषित गरियो। त्यो बाढीबाट सिक्किमजस्तो सानो राज्यमा पनि झण्डै 90 हजार आबादी प्रत्यक्ष रूपमा प्रभावित भए। सिक्किम विशुद्ध हिमाली राज्य भएको कारण प्रकृतिले कस्तो रूप लिन्छ भनी तत्काल पत्तो लगाउन सजिलो छैन।
सिक्किमको अधिकांश भूगोल पहाड़ र चट्टानले भरिएको छ। सिक्किममा कुल 84 वटा हिमताल अवस्थित छन्। तीमध्ये अधिकांश हिमताल मङ्गन जिल्लाको उत्तरी भेक र पश्चिम जिल्लामा अवस्थित छन्। यसै क्षेत्रमा लगभग 17 हजार फिट उँचाइमा अवस्थित ल्होनक हिमतालको माथिल्लो भागमा मुसलधारे वर्षापछि ताल फुटेर टिस्टा नदीमा पस्दा यसले एकाएक भयावह रूप धारण गरेको थियो। यो बाढ़ीमा हजारौँ घर क्षतिग्रस्त भए भने 32 वटा सानाठूला पुल भत्किए, जसले गर्दा यातायातमा ठूलो बाधा उत्पन्न भयो, जसको असर अद्यावधि कायम नै छ।
यस्तै प्रकारले हाल राज्यमा भइरहेको अत्यधिक वर्षाले राज्यका विभिन्न स्थानमा भयावह स्थिति उत्पन्न गरेको छ। नाम्ची जिल्लाअन्तर्गत मझुवागाउँमा पहाड़को ढिस्कना झर्दा गाउँ नै सोहोरिएको छ, जसले गर्दा 6 जनाको घटनास्थलमै मृत्यु भयो। यसरी नै मङ्गन जिल्लाका विभिन्न स्थानमा पैह्रोसँगै आएको भेलबाढ़ीले साङ्कलाङ क्षेत्रमा उत्पात मच्चाएको छ भने हालै मात्र भारतीय सेना र एसएसबीले बनाएको पुललाई पुनः बाढ़ीले भत्काएको छ। हाल पनि मङ्गन जिल्लाका कतिपय गाउँ-बस्ती राज्यका अन्य ठाउँसँग सम्पर्क विच्छेदको स्थितिमा रहेका छन्। यस्तै प्रकारले गेजिङ जिल्लाको योकसम-टाशीडिङ निर्वाचन क्षेत्रसहित याङ्थाङ निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पनि भेलबाढ़ीले गाउँलाई पनि विस्थापित बनाएको छ।
अविरल वर्षाको कारण भूक्षय हुने वा पैह्रो जाने, नदी कटानको जोखिम बढ्ने, गाउँशहर नदीको डुबानमा पर्ने तथा नदीले आफ्नो बहाव नै परिवर्तन गर्दा ठूलो धनजनको नोक्सान हुने गर्दछ। यस दृष्टिले हेर्दा वनजङ्गलको विनाश अनि ढुङ्गा, बालुवा, गिटीको जथाभावी हुने उत्खनन् बाढी-पैह्रोको प्रमुख कारण बन्दैछ।
विशद् रूपमा हेर्नु हो भने हिन्दकुश हिमालय क्षेत्रको मध्य तथा पूर्वी क्षेत्रमा यस्तो जोखिम झन् अधिक रहेको छ। इसिमोड र यूएनडीपीले केही वर्षअघि गरेको अध्ययनअनुसार हिमाली क्षेत्रमा धेरै हिमतालहरू छन्। यो पृष्ठभूमिमा समान भौगोलिक बनावट भएको हिमाली राज्य सिक्किममा आएको बाढी र हिमताल विस्फोटनले देशका अन्य हिमाली क्षेत्रहरूलाई पनि सजग तथा सतर्क हुन सन्देश दिएको छ। यस प्रकारको प्राकृतिक विपद् रोक्न सजिलो नभए पनि यिनलाई केही मात्रामा न्यूनीकरण गर्न र विपद्ले गर्न सक्ने नोक्सान कम गर्न सकिन्छ। त्यसैले हिमताल विस्फोटन वा हिमनदीको प्रवाहमा बढोत्तरीबाट हुने जोखिम र नोक्सानी न्यूनीकरणका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको पूर्वसूचना प्रणालीको विकास हो। यस्ता घटनाहरू देशका उत्तरी राज्य हिमाचल प्रदेश र उत्तराखण्डमा पनि बारम्बार हुँदै आएका छन्।
भारतमा यस प्रकारको पूर्वसूचना प्रणाली विकास पनि गरिएको छ। सिक्किमको ल्होनाक तालमा पनि यो प्रणाली जडान गरिएको थियो, तर यो पूर्णरूपमा सञ्चालनमा आइनसकेका कारण तल्लो तटका स्थानीयलाई पूर्वसूचना हुन नसकेको मानिएको छ। यही कारणले त्यहाँ ठूलो स्तरमा मानवीय र भौतिक क्षति हुन पुग्यो। यस्तै प्रकारले राज्यको विज्ञान तथा प्रविधि विभागले गेजिङ जिल्लाको पूर्वी राथोङ हिमनदीमा हिमताल प्रकोप बाढ़ी अर्थात जीएलओएफ जोखिम मूल्याङ्कनको क्रम शुरु गरेको छ। हिमाली क्षेत्रको पारिस्थितिकी प्रणालीको गहिरो अध्ययन गरेर हिमताल विस्फोटनको मूल्याङ्कन गरिन्छ। सबैलाई थाहा छ, वैश्विक उत्तापको कारण हिमाली उच्च भेकमा हिमताल विस्फोटको खतरा बढेको छ। पृथ्वीको औसत तापमानमा भएको वृद्धिका कारण हिउँ पग्लिँदा हिमतालमा पानीको मात्रा बढेर तालले त्यो थेग्न नसक्दा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढ्ने देखिएको हो। जलवायु परिवर्तनका कारण भारी वर्षा, बाढी, पैह्रो तथा डुबानका घटना बढदो क्रममा छन्। हिन्दकुश क्षेत्रमा अझै पनि हिमताललाई पर्यावरणीय प्रभाव र परिणामसँग जोडेर नहेर्नु दुःखको कुरा हो। तल्लो तटमा भौतिक पूर्वाधार निर्माण तथा बस्ती विकास गर्दा माथिल्लो तटमा रहेको जोखिमलाई ध्यानमा राख्नु अत्यावश्यक छ। यसैगरी चालू तथा निर्माणाधीन जलविद्युत् परियोजना र अन्य भौतिक संरचनालाई कसरी जोगाउने र नदी किनार तथा बाढी-पैह्रोको जोखिममा रहेका गाउँबस्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने दिशामा ध्यान दिन जरुरी छ।
सिक्किमजस्तो हिमाली राज्यमा बाढी-पैह्रोको प्रकोपबाट बच्नका लागि मानिस सचेत बन्न जरुरी छ। नदी किनारमा बसोबास गर्नु त्यसै पनि जोखिमयुक्त हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। सकेसम्म यस्तो जोखिमयुक्त ठाउँमा स्थायी बसोबास गर्नुहुँदैन। बस्नु परिहालेको खण्डमा नदीको उद्गम स्थलको दुरी, नदीमा मिसिँदै आउने सहायक नदी नाला र खोल्साको अवस्था तथा त्यस क्षेत्रमा नियमित रूपमा हुने वर्षाको मात्रा, आसपासको वनजङ्गलको स्वरूप तथा जमिनी अवस्था एवं पैह्रोको जोखिमलाई ध्यानमा राखी बसोबास गरिए पनि वर्षायाममा होशियार बन्न आवश्यक छ।
अविरल वर्षाका कारण सिक्किममा बाढ़ी-पैह्रोले थिलथिलो बनाएको अवस्थामा हाल सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) दिल्ली भ्रमणमा रहनुभएको छ। उहाँले सिक्किममा आइपरेको यो प्राकृतिक प्रकोपबाट मुक्ति पाउनका लागि केन्द्र सरकारसमक्ष समुचित उपायका लागि कुराकानी गरिरहनुभएको छ।
कुनै पनि राज्यको आर्थिक अवस्थामा सुधार ल्याउन दुरुस्त यातायात व्यवस्थाको ठूलो योगदान रहेको हुन्छ। सिक्किमको जीवनरेखा मानिएको राष्ट्रिय राजमार्ग-10 मा समय-समयमा हुने अवरोधले सिक्किमलाई धेरै हानि पुर्याएको छ। मुख्यमन्त्री श्री पीएस तामाङ (गोले)-ले यसपालीको आफ्नो दिल्ली भ्रमणमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँगै उहाँको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरूसमक्ष सिक्किमले सामना गर्दै आएको समस्याबारे अवगत गराउनुभएको छ। देशमा केन्द्रिय सड़क तथा यातायात मन्त्री बनेपछि श्री नितिन गड़करीले देशको सड़क सञ्जालको कायाकल्प गरेको कुरालाई कसैले नकार्न सक्दैन। पूर्वोत्तरका लगभग सबै राज्यमा राष्ट्रिय राजमार्गको विस्तारले यातायात सुगम बनेको छ। सिक्किममा पनि वैकल्पिक राजमार्गको विकास गर्ने काम युद्धस्तरमा चलिरहेको छ भने रेलमार्गद्वारा सिक्किमलाई देशका अन्य भागसित जोड्ने कार्य पनि चलिरहेको छ। वैकल्पिक व्यवस्था गरिनु चरम सङ्कटको अवस्थामा राहत पाउनु हो, तर सिक्किमको सन्दर्भमा हेर्नु हो भने राष्ट्रिय राजमार्ग-10 जीवनरेखा हो। यो राजमार्गको सिक्किमसँगै देशको सुरक्षाको दृष्टिले पनि धेरै महत्त्व रहिआएको छ। यद्यपि पछिल्लो वर्षका 3-4 अक्टोबरको राति अचानक रूपमा टिस्टानदीमा आएको बाढ़ीले राष्ट्रिय राजमार्ग-10 लाई ठूलो क्षति पुर्याएको छ। बाढ़ले पुर्याएको क्षयक्षतिको मरम्मती कार्य नभएको अवश्य पनि होइन। अहिले पनि यो राजमार्गको रखरखाउको कार्य चलिरहेको छ। तर, बाढ़ले आफूसँग ल्याएको ढुङ्गा, माटो, भग्नावशेषले गर्दा टिस्टा नदीको सतह लगभग 10 फिट माथि उठाएको छ, जसले गर्दा नदी तटीय क्षेत्रमा अवस्थित शहर, गाउँबस्तीहरू खतरामा परेका छन्। यससँगै राष्ट्रिय राजमार्ग-10 पनि डरलाग्दो स्थितिमा पुगेको छ। यसैले सेवक-रम्फू राजमार्गको स्थायी समाधानको दिशामा ठोस पहल गरिनु सिक्किमका लागि अनिवार्य बनेको छ। यसैकारण मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय राजमार्ग-10 को रखरखाउको जिम्मा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) वा नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) जस्ता केन्द्रिय एजेन्सीलाई सुम्पिन अनुरोध गर्नुभएको हो।
मुख्यमन्त्री गोलेको दिल्ली भ्रमणले सिक्किमका लागि अवश्य पनि खुशी लिएर आउने अपेक्षा गरिएको छ। किनभने उहाँले देशका केन्द्रिय नेताहरूलाई सिक्किमको वर्तमान स्थितिको सँग्लो चित्र प्रस्तुत गर्नुभएको छ। सङ्घीय लोकतान्त्रिक मूल्यमान्यतालाई उच्च प्राथमिकता दिएर केन्द्र सरकारले पनि यस दिशामा ठोस पहल गर्ने अपेक्षा गर्न सकिन्छ।
(आकाशवाणी गान्तोकबाट प्रसारित)