पत्रकारिता अनि सामाजिक उत्तरदायित्व- एक संक्षिप्त जानकारी।
भरत शर्मा, न्युज एडिटर, दर्पण टेलिभिजन

लोकतान्त्रिक देशमा विधायिका, कार्यपालिका र न्यायपालिकाको क्रियाक्लापमाथि विसेष नजर राख्ने हुनाले मिडियालाई राष्ट्रको चौथो अंगको रूपमा मानिन्छ। समाजमा घटेका, भईरहेका वा हुने गरेका विविध घटनाक्रमलाई समाज सामु प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रस्तुत गरेर सत्य तथ्यबारे जानकारी गराउनु मिडिया वा मिडियाकर्मीको परम कर्तव्य बन्दछ। वर्तमान समयमा विविध सामाजिक सञ्जाल (सोसियल मिडिया)हरूको बढ्दो क्रम छ।

मिडियाको माध्यामबाट देश, समाज वा अन्तराष्ट्रिय जगतमा भईरहेका घटनाक्रमहरूलाई तत्कालै देख्न, बुझ्न वा जान्न सकिन्छ। दिन्हौं विविध अत्याधुनिक सञ्चार तकनिकीहरू विकसित भईरहेका छन्। यध्यपि कतिपय घटनाहरूको वास्तविक्ता वा सत्य तथ्य भने सस्पेन्समै रहने गरेको पनि पाइएको छ। कुनै एउटा समाचार तयार पार्न त्यसको सांगोपांगो केलाउनुपर्ने हुन्छ। के, किन, कसरी, कसले, कहाँ, कहिले जस्ता समाचारको मुल तथ्यलाई ध्यानमा नराखि केवल चाँडो भन्दा चाँडो धेरै भन्दा धेरै भ्युज कमाउन वा लाईक पाउनलाई मात्र समाचार पस्किए समाचारको मुल मर्म र मुल धर्म नै जोखिममा पर्दछ। पत्रकारिता कदापि सहज विषय होइन। यसमा चुनौतीसितै सामाजिक उत्तरदायित्व पनि उत्तिकै छ। कुनै घटनाको बारेमा विस्तृत रूपमा जानकारी प्रदान गरेर समाजलाई यथार्थ देखाउन सक्नु नै सच्चा पत्रकार र पत्रकारिताको धर्म हो। मिडियाले निर्वहन गरेको सकारात्मक भुमिकाले कुनै पनि व्यक्ति, संस्था वा समुह अथवा देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक रूपले समृद्व बनाउन सकिन्छ।

आजको समयमा मिडियाको आवश्यक्ता र महत्व अझ धेरै बढ्दै गईरहेको छ। जनगुनासो अथवा शिकायतहरूलाई सरकार वा जन प्रतिनिधि अथवा सम्बन्धित पक्षसमक्ष पु-याउन, जानकारी दिन, सुचित गर्न, सतर्क गराउन साथै जनसरोकारसित सम्बन्धित विषयलाई एउटा सेतु बनिएर पहल गर्ने काममा मिडियाको प्रमुख भुमिका रहिआएको छ। जनताको आवाज सरकार समक्ष पु-याउन वा सरकारको योजना, कार्यक्रम साथै गतिविधिहरूलाई जनता समक्ष पु-याउनमा यी दुवै पक्षमाझ एउटा सशक्त माध्यमको रूपमा मिडियाको महत्वपुर्ण योगदान रहेको छ। मिडियाले समाजलाई अनेक प्रकारले नेतृत्व प्रदान गर्दछ, जसबाट समाजको विचारधारा प्रभावित बन्दछ। मिडियाको एउटा गलत सुचनाले समाजलाई केवल भ्रमित मात्र पार्दैन अपितु मिडियाप्रतिको विश्वसनियतामाथि पनि प्रश्न चिन्ह खडा गर्दछ।

समाजमा शान्ति र सौहार्दताको भावना विकसित गर्नमा पनि मिडियाको प्रमुख भुमिका हुँदछ। विभिन्न सामाजिक कार्यद्वारा पनि मिडियाले आफ्नो जिम्मेवारी निर्वहन गर्न सक्छ। कोविड संक्रमणकालमा सञ्चार जगतले गरेको कार्य विश्वमै सरहानीय साथै उदाहरणीय बनेको छ। आफ्नो जीवनलाई दाउमा लगाएर युद्वग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न जानु, बाढी, पैह्रो, आगलागी एवं अन्य आकस्मिक दुर्घटनाका समाचारहरू संकलन गर्दा आईपर्ने जोखिमहरूसित जुझ्नु, कतिपय मामिलामा जनता एवं सरकार दुवै पक्षबाट कोपभाजनको शिकार बन्नु मिडियाकर्मीको निम्ति चुनौतीको विषय हो। यध्यपि अहिले चटपटे समाचारलाई प्राथमिकता दिनु र सामान्य विषयलाई मसालादार बनाएर प्रस्तुत गर्दा अवश्यै बढी भ्युज र लाईक आएता पनि वास्तविक सत्य तथ्य भने छुट्न जान्छ।

जसले कसैको जीवन र मनोदशालाई अदेखा गरिदिन्छ। जसबाट मिडिया एवं पत्रकारिताप्रति जनताको विश्वास उठ्छ। तिललाई ताड बनाउने प्रकारका समाचार संकलन गर्नदेखि बञ्चित रहनु समयको माग पनि हो। जनताको विश्वासमा खरो उत्रनु त्यति सहज पटक्कै छैन। कुनै पनि सुचना संकलन गर्दा प्रमाणिकता हुनु अनिवार्य हुन्छ। कुनै पनि घटनालाई कत्तिको रोचक ढंगमा प्रस्तुत गर्न सकिन्छ त्यो पत्रकारको व्यक्तिगत कलाकारितामाथि भर पर्छ। यस अर्थमा पत्रकारिता एक कला पनि हो। हरेक पक्षबाट जिज्ञासा राख्नु नै सही पत्रकारिताको तौर तरिका हो। पत्रकारिता एक यस्तो पेशा हो जसमा मेहनत, इमान्दारिता निष्ठा र प्रमाणिकताको साथ घटना, विचार र सुचनाहरूको संकलन र प्रस्तुतिकरण साथै विश्लेषण गरिन्छ। जनताको एक मजबुत आवाज नै पत्रकारिताको हो।

pressclubofsikkim
pressclubofsikkim

Would you like to share your thoughts?

Your email address will not be published. Required fields are marked *