शिक्षाको उज्यालो प्रकाश नपुगेको समाजमा प्रगति र विकास असम्भव छ। सिक्किमले प्रजातन्त्रको घाम देखेको चार दशक नाघ्दैछ। त्यसअघि सिक्किमको कथा कहालिलाग्दो छ। हाम्रा अग्रजहरूले शिक्षा र प्रगतिबीचको साइनो-सम्बन्धलाई आफ्ना भोगाइहरूबाट चिन्नसके। राजशासनमा काजी ठेकदारहरूको रगरगी र जगजगी थियो। जबसम्म शिक्षाको उज्यालो सिक्किमका कुना-कन्दराहरूसम्म पुग्दैन तबसम्म समाजले प्रगतिको एकै पाइला पनि अघि बढाउन सक्तैन भन्ने सोचको जन्म भएपछि हाम्रा भविष्यद्रष्टा अग्रजहरूले सिक्किमका ठाउँ-ठाउँमा स्कूलहरू खोले र निरक्षरहरूको मस्तिष्कमा ज्ञान र चेतनाको प्रकाश सञ्चार गरिदिए। हातका औंलामा गन्न सकिने यस्ता विभूतिहरूमध्ये एक हुन् वृहस्पति प्रसाईं जसले एक समाज सुधारकका रूपमा आफ्नो गौरवमय चिनारी मात्र छाडेर गएनन् तर आउँदो पिँढीलाई डोहोऱ्याउँदै प्रगतिको शिखरमा पुऱ्याउने एउटा लामो गोरेटो निर्माण गरिदिए। आज हाम्रो समाज जुन धरातलमा उभिएको छ त्यसको जग बसाउने उनी एक कुशल कारिगर हुन्।

कैयौंपल्ट संघर्षको भट्टीबाट खारिएर निस्किएका प्रसाईंको योगदान उल्लेखनीय र अनुकरणीय छ। चालिसको दशकमा रानीपुल नजिकै घट्टे डाँड़ाको एउटा कुल्ली डेरामा स्कूल शुरू गर्ने प्रसाईंको स्मृतिमा आज रानीपुल उच्चत्तर माध्यमिक विद्यालयको नामाकरण गरिएको छ। प्रसाईंको नाममा स्कूलको नामाकरण गरिनुपछिको संघर्षमय गाथालाई पनि पढ्न जरुरी हुन्छ। हामीले वृहस्पति प्रसाईँलाई समाजसेवीसँगै एक जुझारू राजनीतिज्ञको रूपमा चिनेका छौं। उनी बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी थिए। सन् 1899-को 30 जूनका दिन नेपालको मेची अञ्चलअन्तर्गत कर्कले पिपलेमा टिकाराम प्रसाईं र सावित्रा प्रसाईंको कोखबाट उनको जन्म भएको हो। बाल्य जीवनको दुःखदायी घटनाक्रमहरूले उनलाई सिक्किममा ल्याइपुऱ्याएको थियो। सन्तानमा चार भाइ छोरामध्ये उनी साहिँला थिए। उनका तीन दाजु-भाइको सानैमा मृत्यु भयो। उनी सात वर्षको छँदा पिताले पनि संसार छाडे। छजनाको परिवारमा दुई आमा छोरा मात्र रहेपछि उनीहरूको कमजोरीको फाइदा उठाई तत्कालीन सामन्ती र शोषकहरूले उनीहरूको जग्गा जमीन सबै षडयन्त्रपूर्वक हड़प गरे। बेसहारा सावित्रा आफ्नो छोरा साथमा लिई सहारा खोज्दै पहाड़बाट मधेश झरिन्। मधेश झरेपछि औलो ज्वरोले समायो र दश वर्षको छोरालाई छाडेर उनी पनि स्वर्गारोहण भइन्। यसरी टुहुरो बनेका वृहस्पति एक वर्ष जति मधेशमै यताउती भौंतारिँदै हिँडेपछि 11 वर्षको उमेरमा सिक्किम पसे। उनी पूर्व सिक्किमको मार्ताममा एकजना ठेकदारको घरमा गोठाला बसे।

सानै उमेरदेखि तिक्ष्ण बुद्धिका धनी वृहस्पतिले स्कूलको दैलो टेक्ने अवसर भने कहिल्यै  पाएनन्। तरै पनि उनले गोठाला जाँदा अरू गोठालाहरूबाट साउँ अक्षर सिक्ने मौका पाए। 25 वर्षको लक्का जवान हुँदासम्म उनी अर्काकै घरमा गोठाला थिए। उनी ठेकदार चहरसिंह भन्सारीको घरमा गोठाला बस्दा मालिकले एउटा पुराण लगाएर आफ्नो माइली छोरीको बिहे आफ्नै गोठाला वृहस्पतिसित गरिदिए। अब त्यस घरमा उनको दर्जा गोठालाबाट ज्वाईं साहबमा पुग्यो। उनको विवाहले गोठाले जीवनको अन्त्य गरिदियो। विवाहपछि उनी नाम्ली बस्तीमा जमीन किनेर खेतीपाती गर्नलागे। गाउँमा सड़क निर्माण हुन थालेपछि उनी त्यही सडकमा कुल्ली काम गर्नथाले र पछि सानोतिनो ठेकाको काम गर्ने ठेकदार पनि भए। तर पढालेखा नभएकाले उनले ठेकामा नोक्सानी पनि खप्नुपऱ्यो। ठेकाको काम राम्रोसँग गर्नलाई कि आफू अंग्रेजी पढ्नुपर्छ कि अरू कसैलाई पढाउनुपर्छ भन्ने उनलाई लाग्यो। स्कूल नगए भविष्यमा आफ्ना र गाउँका नानीहरूले दुःख पाउनेरहेछन् भन्ने उनलाई बोध भयो। सन् 1946-को 29 अप्रेलको दिन वृहस्पति प्रसाईंले घट्टे डाँड़ामा एउटा स्कूल खोले। काजीलाई जमिन मागेर उनले स्थापना गरेको समिति स्कूलमा जयदेव शर्मालाई प्रथम शिक्षकका रूपमा नियुक्ति गरे। उनले आफ्नो गोजीको पैसाले शिक्षकको तलब दिन्थे। तत्कालिन काजी ठेकदारहरूको बढ्दो अन्याय र अत्याचार थियो। उनीहरूलाई नसोधी गाउँमा कुनै नवीन र प्रगतिमूलक कार्य गर्न भने चाहेर पनि असम्भव थियो। घट्टे डाँडामा स्कूल खोलेको थाहा पाएपछि उनीहरूले यो खबर राजाको कानमा पुऱ्याए। राजकुमार स्वयं एउटा जीपमा सवार भई स्कूलमा आए। स्कूल कसले खोल्यो, गुरुबाउले तलब पाउँदैछ कि बिनातलब पढाउँदैछ भनी राजकुमारले गाउँलेलाई सोधे। सबै कुराको जानकारी लिएपछि उनले अबउसो यसलाई निरन्तरता दिनु भन्ने सल्लाह दिइराखेर फर्किए।

प्रसाईं राजनीतिज्ञ पनि रहेकाले सिक्किमका विभिन्न ठाउँहरूमा जाँदा त्यहाँका मानिसहरूलाई स्कूल खोल्नमा प्रोत्साहित गर्दथे। शिक्षाको महत्त्वबारे उनले गरेका प्रचार-प्रसारको परिणामस्वरुप थप 52 वटा समिति स्कूलहरू खोलिएको कुरा उनकै साहिँला छोरा नरबहादुर प्रसाईं बताउँछन्। घट्टे डाँड़ाको स्कूल चलाउन आफ्ना पिताले कहिलेकाहिँ गाउँ-गाउँ घुमेर चन्दा संग्रहसमेत गरेको उनी स्मरण गराउँछन्। निक्कै लामो समयसम्म गोजीको पैसाले शिक्षकको तलब दिएपछि सन् 1962 -मा सरकारबाट यसले सरकारी स्कूलको रूपमा मान्यता पायो र तीनजना शिक्षक नियुक्त गरियो। सरकारले स्कूल जिम्मा लिएपछि वृहस्पतिका छोरा नरबहादुर स्वयंले पनि त्यस स्कूलमा शिक्षकका रूपमा सेवा पुऱ्याएको उनी स्वयं बताउँछन्। छैटौं कक्षासम्म चल्दै गरेको स्कूललाई पछि दशौं कक्षासम्मको बढोत्तरी गरियो र नरबहादुर भण्डारीको सरकारमा तुलशीराम शर्मा शिक्षा मन्त्री छँदा यसलाई नयाँ ठाउँमा सारिएको र त्यतिबेलै वृहस्पतिकै नाममा स्कूलको नाम राख्नुपर्छ भन्ने प्रस्ताव ग्रहण गरिएको उनका छोरा नरबहादुर बताउँछन्। एसडीएफ सरकारमा रानीपुल उच्चतर माध्यमिक विद्यालयको नाम वृहस्पति प्रसाईं उच्चतर माध्यमिक विद्यालय भनी आधिकारिक घोषणा भयो।

समाजसेवासँगै राजनीतिमा पनि एक खरो व्यक्तित्त्वका रूपमा चिनिने वृहस्पति प्रसाईँको सिक्किमेली राजनीतिमा पनि उत्तिकै महत्त्वपूर्ण योगदान छ। 1947-मा कंग्रेस पार्टी खोलिएपछि उनी त्यसको प्रचारक भई सिक्किमका गाउँ-गाउँ घुम्नथाले। अन्याय-अत्याचारको विरुद्ध लड्ने एक क्रान्तिकारी विचारधारा भएका व्यक्तिका रूपमा आफ्नो चिनारी स्थापित गरिसकेका वृहस्पति प्रसाईँ नबिराउनु नडराउनु भन्ने मूलमन्त्र लिएर चेतनामूलक गतिविधिहरूमा सदैव संलग्न रहन्थे। उनक प्रभावकारी व्यक्तित्त्वले होला त्यससमय राजा पनि डराउँथे भनिन्छ। काजी ठेकदारहरूले यहाँका रैतीविरुद्ध गरेको अन्याय र अत्याचारले सीमा नाघ्दै गएपछि विरोधका स्वरहरू गुञ्जिनथाले। राजशासनकालको असमान व्यवस्थाको विरुद्ध आवाज उठाउनेहरूमध्ये उनी एक प्रखर राजनीतिकर्मी थिए। त्यसताक भोटिया-लेप्चाको एक भोटलाई नेपालीको 6 भोट बराबर मानिन्थ्यो। यस्तो कोल्टे व्यवस्थाविरुद्ध प्रसाईं पनि अघि सरे। पछि गएर यो आन्दोलनले लक्ष्य हासिल गऱ्यो।

1947-मा सिक्किममा कंग्रेस पार्टी खोलिएपछि रम्फू बजारमा पार्टीको केन्द्रिय कार्यालय स्थापित गरियो। 1949-मा कंग्रेसका 25 सदस्यहरूलाई सरकारले पक्राउ गरेर जेलमा हाल्यो। उनी आन्दोलनका प्रमुख व्यक्ति भएकाले 35 दिन जेलमा बस्नुपऱ्यो। प्रसाईं जेल पसेको सुनेपछि जनता आक्रोशित बने र जनताकै बुलन्द आवाजको परिणामस्वरुप उनलाई जेलबाट निकाल्न सरकार बाध्य भयो। प्रसाईं जस्ता क्रान्तिकारीहरूको आवाजले नै 1949-मा धुरी खजाना 6 रुपियाँबाट घटाएर एक रुपियाँ अनि बारी खजाना 6 रुपियाँदेखि 1.25 रुपियाँ गरिएको थियो। कंग्रेस पार्टीमा रहुञ्जेल उनले निरन्तर जनसेवा गरिरहे तर कहिल्यै न पार्टीमा र न कहिल्यै सरकारमा ठूलो पद खोजे। 1973-मा छेडिएको जनआन्दोलनमा उत्रिएर प्रजातन्त्रको नयाँ बिहानी ल्याउने क्रान्तिमा उनी पनि होमिए। समाजको प्रगति र विकासमा सदैव दिलोज्यान दिएर लागिपर्ने प्रसाईंलाई निक्कै लामो समयसम्म मधुमेहको रोगले सतायो र सन् 6 जून 1979-मा यस धरतीबाट उनको चोला उठ्यो। उनको नश्वर शरीरले यो भौतिक जगतबाट विदा लिएर गए तापनि उनका कालजयी कर्महरूले प्रसाईंलाई सदैव अमर बनायो। उनले देखाएको बाटोलाई हाम्रो समाजले अनुसरण गर्दै आइरहेको छ। उनका सुकर्महरू हाम्रो निम्ति अभिप्रेरणा बनेको छ।

pressclubofsikkim
pressclubofsikkim

Would you like to share your thoughts?

Your email address will not be published. Required fields are marked *